`

कविराज नेगी लामा बने विश्व तेक्वान्दोबाट सम्मानित पहिलो नेपाली प्रशिक्षक

Nepal One HD २१ माघ २०८२ ८:०५
खेलकुद

काठमाडौं । नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय थपिँदै पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सन् २०२५ का लागि वर्ल्ड तेक्वान्दो (डब्लुटी) पारा कोच अफ द इयर अवार्डबाट सम्मानित भएका छन् । वर्ल्ड तेक्वान्दोबाट यो सम्मान प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक हुन् ।

विश्व तेक्वान्दोको सर्वोच्च निकाय वर्ल्ड तेक्वान्दोले सोमबार संयुक्त अरब इमिरेट्समा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड्स समारोहमा राष्ट्रिय पारा टोलीका प्रशिक्षक नेगी लामालाई उक्त अवार्ड प्रदान गरेको हो । अवार्ड वर्ल्ड तेक्वान्दोका अध्यक्ष डा. चुंगवोन चोउले हस्तान्तरण गरेका थिए ।

वर्ल्ड तेक्वान्दो प्राविधिक आयोगले नेपालमा पारा तेक्वान्दोको विकास, विस्तार र अन्तर्राष्ट्रिय सफलतामा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै यो वार्षिक सम्मान प्रदान गरिएको जनाएको छ । यसअघि नेगी लामा पल्सर स्पोर्ट्स अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।

सन् २०१५ देखि स्वयंसेवी रूपमा राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक रहँदै आएका नेगी लामाको प्रशिक्षणमा नेपालले हालसम्म १३ अन्तर्राष्ट्रिय पदक जितेको छ । जसमा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक छन् । यी उपलब्धिहरू एसियाली पारा खेलकुद, पारालिम्पिक, एसियाली च्याम्पियनसिप र विश्व च्याम्पियनसिपसम्म फैलिएका छन् ।

उनकै प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिस २०२४ पारालिम्पिक र हाङ्झोउ २०२२ एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । यस्तै, सृजना घिसिङले २०२२ को वर्ल्ड ग्रान्ड प्रिक्स फाइनलमा ऐतिहासिक स्वर्ण पदक हात पार्दै नेपाली पारा तेक्वान्दोलाई विश्वमञ्चमा चिनाएकी थिइन् ।

हाल नेपाल तेक्वान्दो संघसहित विश्वभरका २१३ राष्ट्र वर्ल्ड तेक्वान्दोमा आबद्ध छन् । सीमित स्रोतसाधनका बाबजुद निरन्तर अन्तर्राष्ट्रिय सफलता दिलाउँदै आएका नेगी लामाको यो सम्मानलाई नेपाली पारा खेलकुदको विश्वस्तरीय मान्यताका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *