`

निर्वाचन आचारसंहिता देखाउँदै नवलपरासीमा रास्वपाको कार्यक्रममा रोक

Nepal One HD २७ माघ २०८२ १२:१७
निर्वाचन विषेश

काठमाडौं । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिता २०८२ देखाउँदै जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्तावित कार्यक्रम सञ्चालन गर्न नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लामा रास्वपा सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन कार्यक्रम’ आयोजना हुने जानकारी प्राप्त भएपछि प्रशासनले सो कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हुने ठहर गरेको हो।

आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्यक्रम चुनावी गतिविधिको स्वरूपमा पर्ने भन्दै प्रशासनले कार्यक्रम नगर्न र नगराउन निर्देशन दिएको जनाएको छ।

प्रशासनका अनुसार निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको छ। सो आचारसंहिताअनुसार राजनीतिक दल, उम्मेदवार तथा उनीहरूसँग सम्बन्धित सबै गतिविधि आचारसंहिताको दायराभित्र हुनुपर्ने स्पष्ट व्यवस्था छ।

सूचनामा आचारसंहिता उल्लङ्घन गरी कुनै पनि राजनीतिक कार्यक्रम सञ्चालन गरिएमा प्रचलित कानुनअनुसार कारबाही हुनसक्ने चेतावनीसमेत दिइएको छ।

त्यसैले जिल्लाभित्र प्रस्तावित रास्वपाको कार्यक्रम सञ्चालन गर्न नदिइएको प्रशासनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषण राज भण्डारीद्वारा जारी गरिएको हो। प्रशासनले निर्वाचन अवधिभर जिल्लामा हुने सबै राजनीतिक गतिविधिमाथि कडाइका साथ अनुगमन गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *