`

भ्रष्टाचारीविरुद्ध निर्मम हुने भनेकी प्रधानमन्त्री कार्की भ्रष्टाचार नघटेकोमा चिन्तित

Nepal One HD २८ माघ २०८२ ११:३९
समाचार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण नभएकोमा चिन्ता प्रकट गरेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्यूनीकरण नभएको भन्दै उनले चिन्ता प्रकट गरेकी हुन् ।

‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ । पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको पनि देखिन्छ, तर भ्रष्टाचार न्यून भएन,’ उनले भनिन् ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने उनले बताइन् ।

‘हाम्रो देशमा पनि संविधानमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरेको छ । यसले गर्ने कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारी एक प्रकारको डर अवश्य पैदा भएको छ,’ उनले भन्छिन् ।

कार्कीले भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको पनि बताइन् ।

‘भ्रष्टाचार नियन्त्रण गर्न हामीकहाँ पर्याप्त संरचना छन् । पर्याप्त कानुनी र नीतिगत व्यवस्था छन्, तर, हामीकहाँ किन भ्रष्टाचार कम भइरहेको छैन भन्ने कुरा चिन्ताजनक छ,’ उनको भनाइ छ ।

जेन–जी विद्रोहपछि नागरिक सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले यसअघि सुशासन आयोग गठन गर्ने बताएकी थिइन् ।

भ्रष्टाचारीहरूविरुद्ध निर्मम हुने चेतावनी दिएकी थिइन् । तर, यतिबेला भने प्रधानमन्त्री कार्की भ्रष्टाचार न्यूनीकरण नभएको भन्दै चिन्ता प्रकट गरिरहेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *