`

सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

Nepal One HD २९ माघ २०८२ १४:३६
प्रमुख खबर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताएका छन् । उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीवार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा उनले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वशर्त सडक यातायात भएपनि सडक सुरक्षाको विषय निकै संवेदनशील बन्दै गएको उनको भनाई छ । विशेष गरी एशियाली तथा विकासोन्मुख देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर रहेको उनले बताए । सचिव शर्माले ट्राफिक सुरक्षा कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता रहेको बताए। उनले धेरै पहिलेदेखि रोड सेफ्टी काउन्सिल गठन गर्न प्रयास गरिरहेको भएपनि सफल हुन नसकेको उल्लेख गरे । प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्नको लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म गठन हुन नसकेको उनकाे भनाइ छ ।

यसको लागी सुरक्षा निकाय, निजी क्षेत्र, यातायात व्यवसायी लगायत सबै पक्षले वकालत गर्नुपर्नेमा उनले जाेड दिए। उनले मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधार गरिरहेको पनि जानकारी दिए।
‘ट्राफिक सुरक्षाको विषय असाध्यै एउटा चुनौतीको रुपमा रहेको छ , हामीले यातयातको माध्यामद्वारा जीवनालाई सहज बनाउने र विकासको गतिलाई अगाडी बढाउने पूर्वशर्तको रुपमा सडक यातयात भएतापनि सडक सुरक्षाको विषय चाहीँ निकै संवेदनशील हुँदै गइरहेको अवस्था छ,’उनले भने,’त्यसमा पनि एसियाका देश र अविकसित देशहरुमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या रहेको छ । ट्राफिक सुरक्षा एउटा पक्षले मात्रै गरेर हुँदैन । ट्राफिक सुरक्षाको लागि हामीले रोड सेफ्टी काउन्सिल खोल्नुपर्छ भनेर धेरै पहिलादेखि प्रयास गरिरहेका छौँ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले तीन तहका सरकारबीच कानूनी असमानताले सार्वजनिक यातायात क्षेत्र प्रभावित भएको बताए । उनका अनुसार संघीय सरकारले बनाएको कानूनभन्दा फरक–फरक कानून तल्लो तहका सरकारले बनाउँदा सार्वजनिक यातायात क्षेत्र ठूलो चपेटामा परेको छ । यसले दुर्घटना बढाउन सहयोग गरेको उनको आरोप छ । सिटौलाकाअनुसार सडक निर्माणमा समेत तीन तहबीच समन्वय अभाव देखिएको छ ।‘तीन तहका सरकार छन्, तीन तहका नियम, तीन तहको कानुन , पहिलो कानून बनाउने त संघीय सरकारले हो,’ उनले भने,’संघिय सरकारको कानून भन्दा तल्लो तहका सरकारले कानून फरक फरक बनाउने कारण नेपालको सार्वजानिक यातयात क्षेत्र ठूलो चपेटामा परेको छ । त्यो कारणले पनि दुर्घटना बढेर गएको छ । सडक बनाउने कुरामा तीन तहको हानाथाप छ ।’

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तिब्र शहरीकरण, जनघनत्व वृद्धि र सवारी साधनको निरन्तर विस्तारले यातायात व्यवस्थापन प्रणालीमा असाधारण दबाब सिर्जना गरेको बताए । सडक पूर्वाधार विस्तार, सार्वजनिक यातायात सुदृढीकरण तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन सवारी वृद्धिदरसँग समानान्तर हुन नसक्दा ट्राफिक जाम, सवारी दुर्घटना, प्रदूषण, अव्यवस्थित पार्किङ तथा अनुशासनहीन सवारी सञ्चालन जस्ता समस्या बढ्दै गएको उनको भनाइ थियो ।

‘तिब्र शहरीकरण, जनघनत्वको वृद्धि र सवारी साधनको निरन्तर विस्तारले गर्दा उपत्यकाको यातयात व्यवस्थापन प्रणालीमाथी असाधारण दबाब सिर्जना गरेको छ । सडक पूर्वाधार विस्तार, सार्वजानिक यातयात सुढृडीकरण तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको विकास सवारी वृद्धिदरसंग समानान्तर हुन नसक्दा ट्राफिक जाम विशेष गरी सवारी दुर्घटना, प्रदुषण, अव्यवस्थित पार्किङ तथा अनुशासनहिन सवारी सञ्चालन जस्ता चुनौतीहरु बढिरहेका छन्,’ उनले भने ।

उनले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि कार्यलयले सचेतना लगायतका कार्यहरु गर्दै आएको जानकारी दिए । कार्यशालामा सहभागीहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत नीति, कडा कार्यान्वयन र सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *