हिमाली जिल्लामा पनि २१ फागुनमै चुनाव हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु पुगेर आगामी २१ फागुनमै हिमाली जिल्लाहरूमा पनि निर्वाचन हुने बताएकी छन् ।
हिमाली जिल्लाहरूमा निर्वाचन नहुन सक्ने संशयबीच उनले निर्वाचन एकैचरणमा देशैभर हुने बताएकी हुन् ।
उनले निर्वाचन सार्ने बहाना सरकारले नरहेको भन्दै सबै हिमाली जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूसँगै सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वहरू निर्वाचनका लागि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएकी थिइन् ।
उनले पत्रकारहरूसँग भनिन्, ‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेकी छन् ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए ।
सोलुखुम्बुमा एक सय २३ मतदानस्थल छन् । हिमाली क्षेत्रमा पर्ने सातवटा मतदानस्थलमा हुनसक्ने हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
