पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे (भिडियो)
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं पुगेका छन् । झापादेखि उनी हेलिकोप्टरमा काठमाडौं आइपुगेका हुन् ।
केही सातादेखि झापामा बस्दै आएका उनी आज काठमाडौं जाने तय भएपछि राजसंस्थापक्षधर शक्तिहरूले विमास्थलस्थल परिसरमै उनको स्वागत कार्यक्रम राख्ने तयारी गरेका थिए ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मेटामा स्टाटस लेख्दै शाहको स्वागतमा हजारौँ समर्थकहरूलाई विमास्थल क्षेत्रमा जान आह्वान गरेका थिए ।अन्य राजसंस्थापक्षधर नेताहरूले पनि त्यस्तै खालको आह्वान गरे ।
यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गर्यो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निषेधाज्ञा जारी गर्नुको कारण राजसंस्था समर्थकहरूले स्वागतको नाममा प्रदर्शन नगरुन् भन्ने हो ।
नभन्दै निषेधाज्ञा जारी भएसँगै पाँच जना भन्दा बढिको समूह भेला हुन विमानस्थल हाताभित्र प्रतिबन्ध लाग्यो । त्यसले गर्दा राजसंस्थापक्षधरहरूले आज स्वागतको नाममा प्रदर्शन गर्न पाएनन् ।
यसलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको तीब्र आलोचना गरेका छन् ।
यसअघि गत फागुनमा शाह पोखरादेखि काठमाडौं फर्किँदा हजारौँको संख्यामा समर्थकहरू स्वागतका लागि भन्दै विमानस्थल परिसर पुगेका थिए ।
त्यहाँ ठूलो जमात देखेपछि हौसिएका ज्ञानेन्द्रले राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा आन्दोलन चर्काउन राजसंस्थापक्षधर नेता र अगुवाहरूलाई सुझाएका थिए ।
त्यसको केही सातापछि नै १५ चैतमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा ठूलो प्रदर्शन भयो तर हिंसात्मक बन्दा अन्ततः उनीहरू रक्षात्मक बने ।
यद्यपि, त्यसबेला ठूलो जनधनको क्षति भयो । त्यस्तै झल्को आउनेगरी प्रदर्शन गर्ने सम्भावना रहँदा सरकारले यसपटक निषेधाज्ञा जारी गरेर रोकेको हो ।
