`

झापा-५: अध्यक्ष ओलीको पत्र लिएर एमाले मतदाताको घरघरमा

Nepal One HD ८ फागुन २०८२ १८:०७
नेकपा एमाले

दमक। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गर्दै लेखेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगिरहेका छन् ।

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २९ वटै वडामा एमालेका कार्यकर्ताले मतदातालाई सम्बोधन गरिएको अध्यक्षको पत्र वितरण गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रका प्रत्येक टोलका घरघरमा अध्यक्षको पत्रसहित जनतासँग भेटघाट भइरहेको छ ।

निर्वाचन लक्षित घरदैलो अभियानका क्रममा अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र र विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै प्रतिबद्धता पत्र वितरण गर्दै टोल–टोलमा पुग्ने गरिएको छ । अध्यक्ष ओलीको पत्रमा फागुन २१ लाई नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनका रूपमा लिँदै निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

पत्रमा मुलुक गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै समाजमा विभाजनको प्रयास भइरहेको, परिवार र सामाजिक एकतामा असर पुगेको र यसले राष्ट्रकै एकतामा चुनौती खडा गरिरहेको भनिएको छ । राष्ट्रिय निर्माण र स्थायित्वका लागि एमालेका पक्षमा मतदान गर्न अध्यक्ष ओलीले आग्रह गरेका छन् ।

यस अभियानअन्तर्गत दमक नगरपालिकाका वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ भने अन्य वडामा अन्तिम चरणमा पुगेको जनाइएको छ । बाँकी ८ वटै वडाका विभिन्न टोलमा अभियान जारी रहेको छ । घरदैलो कार्यक्रममा केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा र टोल कमिटीका पदाधिकारी, सदस्य, सल्लाहकार र शुभेच्छुकहरू सहभागि भइरहेका छन् ।

त्यस्तै सोही निर्वाचन क्षेत्रअन्तर्गत कमल गाउँपालिकाका विभिन्न वडामा पनि घरदैलो अभियान तीव्र पारिएको छ । गाउँकमिटी अध्यक्ष हरि ढकालका अनुसार सिम्ले, देवीचौन, ज्योतिनगर, फाल्गुनन्द, शान्ति, संगम, मैनाखता, मंगलवारे, बाह्रघरे र झर्का लगायतका क्षेत्रमा भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका सबै वडामा पनि समूहगत रूपमा घरदैलो अभियान सञ्चालन भइरहेको जनाइएको छ । निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार क्षेत्रीय योजना अनुसार सबै टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको छ ।

एमालेले निर्वाचन लक्षित घरदैलो अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी चरणमा पार्टी संगठनलाई थप परिचालन गर्ने योजना रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *