चुनावमा प्रत्येक मतदाताले देश जलाउने र देश बनाउनेलाई चिनौँ : एमाले सचिव महेश बस्नेत
भक्तपुर । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउने बताएका छन् ।
मध्यपुरथिमि क्षेत्रमा आइतबार घरदैलो कार्यक्रममा बाेल्दै उनले मध्यपुरथिमिमा तीन वर्षदेखि रोकिएको विकासका कामलाई अगाडि बढाउने आश्वासन दिए ।
मध्यपरथिमि नगरपालिकाको प्रमुखमा एमाले विजयी भएपछि यहाँको कला, संस्कृति, ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण, पुनर्निर्माण गरी जनताको आयआर्जन र रोजगारीसँग जोड्ने कार्य गरेको स्मरण गरे ।
तत्कालीन नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले प्रदेश र संघीय सरकारसँगको समन्वयमा यहाँको कला, संस्कृति र सम्पदालाई उद्योगसंग जोड्ने सुरुवात गरेको बताउँदै कला र संस्कृतिलाई उद्योग र व्यवसायसँग जोडेर लगेको स्मरण गरे ।
भूकम्पपछि भत्किएका सम्पूर्ण भैतिक तथा अभौतिक सम्पदाहरु पुनर्निर्माण गर्न तत्कालीन सरकारले एक अर्ब बजेट यहाँको कला, सम्पदा र संस्कृति जोगाउन बजेट खर्चिएको बताउदै उनले नगरपालिकाले पनि मूल श्रोतलाई केन्द्रीकृत गर्दै कमल पोखरी, फल्चा, मन्दिरलगायतको सम्पदाको संरक्षण गरेको बताए ।
उनले जातीय संग्रहालयका रुपमा विकास गर्ने लक्ष्य र लाइभ म्युजियमको रुपमा यहाँको सम्पदा, कलालाई जोड्ने अभियान पनि तीन वर्षदेखि रोकिएको भन्दै त्यसलाई पूरा गर्न लाग्ने उल्लेख गरे ।
यसबाहेक नेता बस्नेतले यस क्षेत्रका धेरै बासिन्दाको हनुमन्ते खाेला आसपासमा जमिन भएकाे र उनीहरुले हनुमन्ते करिडोरमा जग्गा गएको गुनासो गरेकाे भन्दै भने, ‘हाम्रा कारणले हनुमन्ते करिडोर निर्माण कार्य रोकिएको होइन, यो क्षेत्रमा आएपछि, राजनीति घुसेर विवादमा ल्याएका कारण नबनके हो, सुस्ताएको हो, अब हामी आउँछौ र यसलाई पुरा गर्छौ, हनुमन्ते करिडोलमा जग्गा पर्नेहरुले चिन्ता गर्नु पर्दैन, प्रत्येकलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै यो आयोजना पुरा गर्छौं ।’
सिंहदरबारसँग भक्तपुरलाई जोड्ने, विकासको आँधीबेहरी ल्याएर समृद्ध भक्तपुर निर्माणको सुरुवात गर्ने, विगतमा आफूले सुरु गरेका काम रोकिएकामा चिन्ता व्यक्त गर्दै उनले अब त्यसलाई पूर्णता दिने बताए ।तर चुनावमा देश जलाउने र र बनाउनेलाई मतदाताले चिन्नुपर्ने बताए ।
उनले भने, ‘ मतदान गर्नु अगाडि देश जलाउनेलाई तपाईहरुले चिन्नुपर्छ, सिक्किमकरण गर्न चाहनेहरुलाई चिन्नुपर्छ, विदेशी मतियाहरुलाई चिन्नुपर्छ, यो देशलाई युक्रेन बनाउन खोज्नहरुलाई चिन्नुपर्छ, यो देशका जेलेस्की, लेन्डुप दोर्जेहरुलाई, लुसिफरहरुलाई चिन्नुपर्छ ।’
एमालेले देशको अहित नगर्ने बताउदै उनले भने, ‘एमालेले देशको राष्ट्रियता जोगाउँछ, एमालेले देशको सार्वभौम सत्ता जोगाउँछ, एमालेले नाकाबन्दी लगायो भने खुलाउँछ, एमालेले सिमाना जोगाउँछ, चुच्चे नक्सा ल्याउछ, एमालेले हिन्द महासागरबाट व्यापार गर्न चाईनासँग सन्धि सम्झौता गरेर प्रशान्त महासागरसम्म पुर्याउँछ, एमालेले लोकतन्त्र बलिाये बनाउँछ, सविधानवाद बलियो बनाउँछ, प्रेस स्वतन्त्रता बलियो बनाउँछ,सम्बृद्धि, विकास दिन्छ, रोजगारी दिन्छ, त्यसैले एमालेलाई स्वदेशदेखि विदेशसम्मले घेराबन्दीमा पारेका छन् ।’
