धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित
काठमाडौँ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उहाँलाई सम्मान गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले उहाँलाई सम्मान प्रदान गर्दै स्वतःस्फूर्त रूपमा स्वयंसेवा गर्नु भएकामा थपलियालाई धन्यवाद दिनुभयो ।
उहाँले जुनसुकै विपद्का घटनामा स्थानीय नै सबैभन्दा पहिले पुग्ने हुनाले प्राधिकरणले तालिम दिएरै स्थानीय स्वयंसेवक उत्पादनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी पनि दिनुभयो । थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाउनुभयो ।
बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदीका स्थानीय र्याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीलाई सहयोग गर्नुभएको थियो ।यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौँ आइरहेको यात्रुबाहक बस बिहान करिब १ः३० बजे धादिङको भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।
