पत्रकारलाई छुट्टै पास नचाहिने, प्रेस काउन्सिलकै परिचयपत्रले काम चल्ने
काठमाडौं । निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिए ।
उनले ०७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भए पनि अहिले ०८२ सालमा राम्राे समन्वय रहेको बताए ।
साथै, मतदानस्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उनले पत्रकारहरूलाई आग्रह गरे ।
उनले भने ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । प्रेस काउन्सिलले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या पर्याे भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ।’
पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उनकाे विश्वास छ ।
