खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
काठमाडौं। इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा अयातुल्लाह अली खामेनीको मृत्युपछि इरानमा उत्पन्न भएको नेतृत्व शून्यता अन्ततः उनकै छोरा मोज्तबा खामेनीको चयनबाट पुरा गरिएको छ । इरानको विशेषज्ञ सभा ले मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । १९७९ को इस्लामी क्रान्तिपछि पहिलोपटक यो पद बाबुबाट छोरामा हस्तान्तरण हुँदैछ ।
अली खामेनी फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका थिए । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र सरकारी सञ्चारमाध्यमले उनको मृत्युको पुष्टि गरेको थियो । सन् १९८९ देखि इरानको नेतृत्व गर्दै आएका खामेनी मध्यपूर्वका सबैभन्दा लामो समय सत्तामा रहेका राष्ट्रप्रमुख थिए, र उनको मृत्युले १९७९ को इस्लामी क्रान्तिपछि केवल दोस्रोपटक नेतृत्व परिवर्तन गराएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसि) को दबाबमा विशेषज्ञ सभाले मोज्तबालाई सर्वोच्च नेता चुनेको जानकारहरूले इरान इन्टरनेसनललाई बताए । युद्धकालीन यो निर्णय संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर लिइएको हो भन्ने गम्भीर प्रश्न उठेको छ । हवाई आक्रमण जारी रहेकाले विशेषज्ञ सभाको पूर्ण बैठक बोलाउन सम्भव नभएको र आइआरजिसिले तत्काल निर्णय गर्न दबाब दिएको थियो ।
५५ वर्षीय मोज्तबा खामनी दशकौंदेखि इरानको सत्ता संरचनाका सबैभन्दा प्रभावशाली तर सार्वजनिक नजरबाट ओझेलमा रहेका व्यक्ति हुन् । कुनै पनि आधिकारिक सरकारी पद नराखिकनै उनले व्यवहारिक रूपमा सर्वोच्च नेताको कार्यालय (बेइत) सञ्चालन गर्दै आएका थिए । उनको आइआरजिसि र बासिज अर्धसैनिक बलसँग गहिरो सम्बन्ध छ । उनलाई सन् २००९ को हरित आन्दोलनको दमनका सूत्रधारमध्ये एक मानिन्छ ।
तर यो उत्तराधिकार विवादरहित छैन । इरानी क्रान्ति नै राजतन्त्रको वंशवादी प्रणालीविरुद्धको विद्रोहबाट जन्मिएको थियो, र अब त्यही प्रणालीको पुनरावृत्ति इस्लामी गणतन्त्रभित्र हुँदैछ । अली खामेनीले आफैं एकसमय वंशवादी परम्परालाई “गलत र अनुचित” भनेका थिए । कोमको धार्मिक प्रतिष्ठानले बाबुबाट छोरामा यो पद जानुलाई गहिरो सन्देहको दृष्टिले हेर्छ ।
इरानको वास्तविक सत्ता सधैं बेइतमा केन्द्रित रही राष्ट्रपति र निर्वाचित सरकार प्रायः एउटा आवरण मात्र हुन् भन्ने विश्लेषकहरूको भनाइ छ । अब यही संरचना आफूलाई जोगाउन मोज्तबालाई नेतृत्वमा ल्याउन सक्रिय भएको हो । आइआरजिसिले मोज्तबालाई एक भरपर्दो सर्वोच्च कमान्डरका रूपमा हेर्छ जसले “प्रतिरोधको धुरी” रणनीतिलाई निरन्तरता दिन सक्छ ।
बुधबार बिहानसम्म इरानको राज्य सञ्चारमाध्यमले आधिकारिक घोषणा गरिसकेको थिएन । प्रशासन अली खामेनीको अन्त्येष्टिपछि र “सुरक्षित अवसर” पाएपछि मात्र सार्वजनिक घोषणा गर्ने प्रतीक्षामा रहेको स्थानीय प्रतिवेदनहरूले संकेत गरेका छन् ।
