विश्वकै प्रदूषित शहरको दोस्राे स्थानमा काठमाडौं
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा तुवाँलोका कारण आकाश धुम्मिएको छ। पछिल्ला केही दिनदेखि मौसम पूर्ण रूपमा खुल्न नसक्दा देशभर वायु प्रदूषणको स्तर उच्च देखिएको छ।
विशेषगरी देशको पूर्वी क्षेत्रमा वायुमण्डलमा प्रदूषणको मात्रा बढी रहेको बताइएको छ। यही कारण काठमाडौं विश्वकै प्रदूषित सहरहरूको सूचीमा परेको छ। वायु गुणस्तर मापन गर्ने संस्थाका अनुसार हाल काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ।
काठमाडौंको वायु गुणस्तर सूचकांक १८४ भन्दा माथि पुगेको छ भने शंखपार्क क्षेत्रमा १६७ इन्डेक्स मापन गरिएको छ। त्यस्तै नेपालका अन्य स्थानहरू पनि उच्च प्रदूषणको चपेटामा परेका छन्। देउखुरी-दाङ, भैँसेपाटी, भक्तपुर, रत्नपार्क, खुमलटार र कीर्तिपुर क्षेत्रमा पनि वायु प्रदूषणको स्तर अत्यधिक देखिएको छ।
सामान्यतया वायु गुणस्तर सूचकांक ० देखि ६० सम्मलाई राम्रो मानिन्छ। तर अहिले धेरै स्थानमा सूचकांक १६० भन्दा माथि पुगेको छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण अवस्थाको संकेत मानिन्छ।
