कस्तो रहन्छ आज, भोलि र पर्सिको मौसम मूड ?
काठमाडौं । देशभर आगामी तीन दिन मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानमा भने हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
विभागले मंगलबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण यस्तो मौसम रहने प्रक्षेपण गरिएको हो ।
महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
मंगलबार (आज) दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
राति गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबार (भोलि फागुन २७ गते) दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।
बिहीबार (फागुन २८ गते) बिहीबार पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै मधेश र बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ । राति पहाडी भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली रहने भएकाले मेघगर्जन, चट्याङ र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।
