गृहमन्त्री अर्याललाई ईनिशाको परिवारको ज्ञापन पत्र, दोषीलाई कडा कारबाहीको माग
काठमाडौं। ईनिशा वि.क. हत्या प्रकरणको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । परिवारकातर्फबाट ईनिशाका दाई चन्द्र बहादुर बि.क. र तपेन्द्र बि.क.ले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे ।
साथै महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्तिसुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीताका साथ लागिपरेको उनले बताए ।
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका ईनिशा वि.क.को बलात्कारपछि हत्या भएको थियो ।
