अमेरिका, इजरायल र इरान युद्धमा मारीनेको संख्या ३ हजार नाघ्यो
एजेन्सी- अमेरिकास्थित मानव अधिकार सुरक्षा सम्वन्धी समाचार संस्था एचआरएएनएले इरानमा भइरहेका हवाई आक्रमणपछि मृत्यु भएको नागरिकको अद्यावधिक तथ्यांक सार्वजनिक गरेको छ। एजेन्सीका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त हवाई कारबाहीपछि इरानमा हालसम्म ३,१८६ जनाले ज्यान गुमाइसकेका छन्।
एजेन्सीले दिएको विवरणअनुसार मृतकमध्ये कम्तीमा २१० बालबालिका, १,३९४ जना सर्वसाधारण, र १,१५३ जना सैन्य कर्मचारी रहेका छन्। साथै ६३९ जनाको पहिचान खुल्न बाँकी रहेको उल्लेख गरिएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गर्दै इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता क्षेत्रव्यापी तनाव तीव्र भएको छ। त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ, जसका कारण मध्यपूर्वमा युद्धको स्वरूप थप जटिल बन्दै गएको छ।
त्यसैबीच, इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलाई पनि लक्षित गर्दै हत्या गरेको जनाएको छ। घटनापछि आक्रोशित इरानी सैन्य प्रमुख अमिर हतामीले ‘निर्णायक बदला’ लिने चेतावनी दिएका छन्।
इरानले पुष्टि गरेअनुसार इजरायल-अमेरिकाको आक्रमणबाट हालसम्म ३ हजारभन्दा बढी मानिस मारिएका छन्। खामेनीको हत्या भएपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता घोषणा गरिसकेको छ। इजरायलले अब उनीसमेत ‘निशानामा’ रहेको संकेत दिएको बताइन्छ।
हालै इजरायलले इरानमा अवस्थित ‘साउथ पार्स ग्यास फील्ड’मा हवाई आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि प्रतिरोधात्मक कारबाही तीव्र बनाएको छ। सोही क्रममा इरानले कतारपछि कुवेतका तेल प्रशोधन केन्द्रहरूमा पनि हवाई हमला गरेको दाबी गरिएको छ।
