सेनाको विमान दुर्घटनामा ६६ जनाको मृत्यु
काठमाडौँ । कोलम्बियामा सेनाको विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको छ।
कोलम्बियाली वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्यकर्मी र ११ चालक दलका सदस्य सवार रहेको जानकारी दिएका छन्। दुर्घटनाग्रस्त विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस थियो, जसलाई सेनाको ढुवानीका लागि प्रयोग गरिन्थ्यो।
बीबीसी हिन्दीका अनुसार विमान प्यूर्टो लेगुइजामो नजिकै, पुटुमायो क्षेत्रमा खसेको हो। त्यहाँ पठाइएका उद्धारकर्मीहरूले विमानका भग्नावशेषबीच जीवित बचेकाहरूको खोजी कार्य जारी राखेका छन्।
रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिनको सी-१३० सैन्य विमान प्यूर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुर्घटना भएको बताउँदै यस दिनलाई देशका लागि अत्यन्तै दुखद दिन भनेका छन्। दुर्घटनापछि विमानमा लागेको आगोका कारण भित्र भण्डारण गरिएको गोला-बारुद पनि विस्फोट भएको पुष्टि गरिएको छ।
स्थानीय मिडियाका अनुसार, स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई साना मोटरसाइकलमार्फत नजिकैका अस्पताल पुर्याएको दृश्यहरूसमेत सार्वजनिक भएका छन्।
