सुपर फास्ट चार्जिङ सुविधासहित चार पावर बैंक नेपाली बजारमा
काठमाडौं । एमडब्ल्युसी नेपालले बजारमा मोबाइल, ट्याब्लेटदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्न चारवटा पावर बैंक सार्वजनिक गरेको छ।
आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले ल्याएका यी पावर बैंकहरू १०,००० एमएएचदेखि ५०,००० एमएएचसम्म क्षमताका छन् ।
जसमा ३५ वाटदेखि ६५ वाटसम्मको सुपर फास्ट चार्जिङ सपोर्ट उपलब्ध रहेको बताइएको छ। विशेषगरी उच्च क्षमताका मोडेलहरू ल्यापटप र म्याकबुक जस्ता डिभाइस चार्ज गर्न उपयुक्त मानिन्छन्।
लन्च अफरअन्तर्गत पहिलो ५० जना ग्राहकले थप पाँच सय रूपैयाँ छुटसहित यी पावर बैंक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
एमडब्ल्युसी पावरस्टार एमएस१०के (१०,००० एमएएच – ३५ वाट) कम्प्याक्ट र हल्का डिजाइन भएको मोडेल हो, जुन दैनिक प्रयोगका लागि उपयुक्त मानिन्छ।
यसमा स्मार्ट डिजिटल डिस्प्ले, मल्टिपल चार्जिङ इन्टरफेस तथा एयर ट्राभल सेफ (सिसिसी अप्रुभ्ड) सुविधा रहेको छ।
यसको तौल १७४ ग्राम रहेको छ भने मूल्य तीन हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य दुई हजार ५१९ रूपैयाँ राखिएको छ।
त्यस्तै एमडब्ल्युसी पावरस्टार एमएस२०के (२०,००० एमएएच – ४५ वाट) मोडेलमा ४५ वाट सुपर फास्ट चार्जिङ, २०,००० एमएएच हाई–डेन्सिटी ब्याट्री, डिजिटल डिस्प्ले तथा मल्टिपल डिभाइस सपोर्ट उपलब्ध रहेको छ।
३३१ ग्राम तौल रहेको यस मोडेलको मूल्य पाँच हजार ४१९ रूपैयाँ तोकिएकोमा अफरअन्तर्गत तीन हजार ३१९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रोफेशनल प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको पावरपल्स एमपी३०के (३०,००० एमएएच– ६५ वाट) मोडेलले ल्यापटपसमेत सजिलै चार्ज गर्न सक्ने क्षमता राख्छ।
यसमा ६५ वाट अल्ट्रा फास्ट चार्जिङ, ३०,००० एमएएच लि–पोलिमर ब्याट्री, चारवटा चार्जिङ पोर्ट तथा पूर्ण सुरक्षा प्रणाली समावेश गरिएको छ।
यसको तौल ६६६ ग्राम रहेको छ भने मूल्य ६ हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य चार हजार ९१९ रूपैयाँ राखिएको छ।
सबैभन्दा शक्तिशाली मोडेल पावरपल्स एमपी५०के (५०,००० एमएएच–६५ वाट) लामो यात्रा तथा बढी प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो।
यसमा ६५ वाट अल्ट्रा फास्ट चार्जिङ, ५०,००० एमएएच उच्च क्षमता, छवटा चार्जिङ इन्टरफेस तथा एड्भान्स सेफ्टी प्रोटेक्सन सुविधा उपलब्ध रहेको छ।
यसको तौल १,०७० ग्राम रहेको छ भने मूल्य नौ हजार ९१९ रूपैयाँ तोकिएकोमा अफर मूल्य ६ हजार ४१९ रूपैयाँ राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी पावर बैंकहरूमा मोबाइलदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्ने क्षमता, स्मार्ट डिजिटल डिस्प्ले, मल्टिपल डिभाइस एकैपटक चार्ज गर्ने सुविधा, सुरक्षित तथा एयर ट्राभल फ्रेन्डली डिजाइन जस्ता विशेषता समावेश छन्।
