अब ८ देशमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी सेवा
काठमाडौं । नेपाल टेलिकम ले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ।
मंगलबारदेखि लागू भएको उक्त सेवाका लागि टेलिकमले Telenor Denmark र SK Telecom सँग सम्झौता गरेको जनाएको छ।
टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा उपलब्ध यो सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार भएको हो। यससँगै अब कुल ८ देशमा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ।
अन्तर्राष्ट्रिय रोमिङमार्फत प्रयोगकर्ताले विदेशमा समेत नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्छन्। भोल्टी (Voice over LTE) प्रविधिमार्फत एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ।
यो सेवा प्रयोग गर्न मोबाइलमा भोल्टी सुविधा सक्रिय हुनुपर्ने र सेट पनि सो प्रविधि सपोर्ट गर्ने हुनुपर्नेछ। मोबाइलको स्क्रिनमा ‘HD’ वा ‘VoLTE’ देखिएमा सेवा उपलब्ध भएको बुझ्न सकिन्छ।
यदि सेवा सक्रिय नभएको अवस्थामा *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छानेर सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ।
