`

बालेन भन्छन्,- ‘२३ भदौको आन्दोलनमा समर्थन थियो संलग्नता थिएन’

Nepal One HD ११ चैत २०८२ १४:२६
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह ले गत २३ भदौमा भएको जेन-जी र्‍यालीप्रति आफू सकारात्मक रहेको स्पष्ट पारेका छन्। जेन-जी घटनाको छानबिनका लागि गठित, गौरीबहादुर कार्की नेतृत्वको आयोगका समक्ष दिएको बयानमा शाहले र्‍यालीका मूल्य-मान्यता र अभिप्रायप्रति आफ्नो समर्थन रहे पनि सक्रिय रूपमा आन्दोलनमा भने संलग्न नभएको बताएका छन्।

उनको भनाइअनुसार घटनाका दिन अर्थात् भदौ २३ र २४ मा उनी सरकारी निवास लैनचौरमै रहेका थिए। ‘२३ गतेको शान्तिपूर्ण र्‍यालीका उद्देश्य प्रति मेरो समर्थन थियो, तर म प्रत्यक्ष रूपमा आन्दोलनमा थिएन,’ बयानमा उल्लेख छ। आफ्नो स्थितिबारे असमझदारी फैलिन नदिन उनले समर्थन र सहभागिताबीचको स्पष्ट भिन्नता आयोगलाई व्याख्या गरेको देखिन्छ।

शाहले सो घटनाक्रममा काठमाडौं महानगरपालिकाको भूमिकाबारे पनि स्पष्टीकरण दिएका छन्। उनका अनुसार व्यवसायी र रेस्टुरेन्ट क्षेत्रका प्रतिनिधिहरूको आग्रहपछि मात्रै महानगर प्रहरीले र्‍यालीको भीडमा पानी वितरण गरेको हो। उनले यसलाई मानवीय र व्यवस्थापकीय जिम्मेवारीका दृष्टिले गरिएको सहयोग मात्र भएको दाबी गरेका छन्।

अहिले भदौ २३ र २४ को घटनाको जाँचबुझका लागि बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चर्चा भइरहेको छ। यसैबेला बालेनले छानबिन आयोगलाई दिएको बयानको केही अंश सार्वजनिक भएको हो। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *