`

अनुहार हेरेर एमालेमा कसैको मुल्याङ्कन हुँदैन : ओली

Nepal One HD १२ चैत २०८२ १६:४२
नेकपा एमाले

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरूलाई स्थापित मान्यतामा आधारित अनुशासित ढंगले काम गर्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा उनले सांसदहरूलाई अरूको गलत प्रवृत्तिमा नचल्न र पार्टीको स्थापित मान्यताअनुसार अघि बढ्न आग्रह गरेका हुन्।

ओलीले भने, ‘अरूका गलत प्रवृत्तिमा नचलौं। हाम्रा स्थापित मान्यताबाट अगाडि बढौं। अरूको अराजकताबाट नसिकौं। हामीभन्दा आधुनिक र एड्भान्स विचार बोकेको पार्टी नेपालमा छैन। हाम्रो पार्टी नै सबैभन्दा प्रगतिशील, परिवर्तनकारी र अनुशासित ढंगले चल्ने पार्टी हो। यसकारण यी कुरालाई बुझेर मात्रै अघि बढ्न आवश्यक छ।’

अध्यक्ष ओलीले दुवै सदनका पदाधिकारी केही दिनभित्र चयन हुने पनि जानकारी दिएका छन्। ‘कामका जिम्मेवारीहरू सुम्पिइनेछन्। त्यसमा पार्टीले गरेको मूल्यांकनअनुसार अघि बढ्नुपर्छ। ‘मलाई यो पद चाहियो’ भन्ने शैली हाम्रो पार्टीमा छैन’  उनले स्पष्ट पारे। 

उनले थपे, ‘पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने आधारमा मूल्यांकन हुनेछ। मूल्यांकन कामको आधारमा हुन्छ, व्यक्ति, अनुहार, क्षेत्रीय, जातीय, धार्मिक वा लैंगिक आधारमा होइन। कुनै पद यस ठाउँको भएकाले वा व्यक्तिगत कारणले होइन, कामको प्रदर्शनअनुसार मूल्यांकन हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *