ओली र लेखक पक्राउ पर्ने सम्भावना, जवानदेखि एसपीसम्मलाई स्ट्याण्डबाइ बस्न प्रहरी हेडक्वार्टरको निर्देशन
काठमाडौं। देशको अहिलेको संवेदनशील सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सबै तहका प्रहरी कर्मचारीलाई उच्च सतर्कता अपनाउन निर्देश गरेको छ।
प्रहरी जवानदेखि एसएसपी स्तरसम्मका सबै अधिकारीलाई चुस्ता बर्दीसहित तयारी अवस्थामा बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई शनिबार बिहान ७ बजेदेखि नै बर्दीसहित स्ट्यान्डबाइमा रहन आदेश दिइएको छ। आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने व्यवस्था मिलाइँदै सम्पूर्ण जनशक्तिलाई तयार अवस्थामा राखिएको सुरक्षा स्रोतले बताएको छ।
स्रोतका अनुसार, जारी सर्कुलर देशभरका विभिन्न इकाइमा पनि क्रमशः लागू गरिएको छ। विशेषगरी काठमाडौँ उपत्यका तथा अन्य संवेदनशील क्षेत्रमा खटिएका प्रहरीलाई अझ बढी सतर्क हुन निर्देशन गरिएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले शुक्रबार साँझ नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई सिंहदरबारस्थित गृहमन्त्रालयमा बोलाएर करिब डेढ घण्टा छलफल गरेका छन्। छलफलको विषय बाहिर नआए पनि, सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
छलफलपछि सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राख्ने निर्णय गरिएको र त्यसअनुसार सर्कुलर जारी भएको बुझिएको छ। आवश्यक परे छिटो, समन्वित र प्रभावकारी रूपमा परिचालन गर्न सकिने गरी सबै तहका प्रहरीलाई तयारी अवस्थामा राखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। हाल सुरक्षा निकायहरूले देशभरको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् र कुनै अप्रिय घटना नघट्न पूर्वतयारी मजबुत पारिएको छ।
