कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमाले महासचिव पोखरेलको माग
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आयोगको प्रतिवेदनलाई पूर्वाग्रही ठहर गर्दै खारेज गर्न माग गरेका हुन्।
स्टाटसमा पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर, मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर।’
आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी घटनाको अनुसन्धान गरी सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लगायत उच्च पदस्थ व्यक्तिहरू विरुद्ध कारबाही गर्न सिफारिस गरेको छ।
यस्तै, गृहमन्त्रालयले आजै ओली र लेखकलाई पक्राउ गर्ने तयारी थालेको सूचना बाहिरिएपछि महासचिव पोखरेलले सो स्टाटस सार्वजनिक गरेका हुन्।
