सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन संसद सचीवालयको निर्देशन
काठमाडौं। संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।
भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूले शपथ लिएको मितिदेखि ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ। सोही अनुसार सचिवालयले सूचना प्रकाशित गरेको हो।
उक्त ऐनको दफा ५० ले सार्वजनिक पदमा रहेका व्यक्तिले तोकिएको निकायसमक्ष सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रावधान राखेको छ।
सांसदहरूले जेठ १० गतेभित्र सचिवालयअन्तर्गत सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ।
सम्पत्ति विवरण गोप्य नहुने उल्लेख गरिएको छ। यद्यपि, विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ, जसमा नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना र मोबाइल नम्बर लगायतका विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
साथै, सम्पत्ति विवरण बुझाउँदा सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पनि पेश गर्नुपर्नेछ।
