ल्याबमा प्रयोग हुने पन्जाले बढी देखियो माइक्रोप्लास्टिकको मात्रा
काठमाडौं। एक नयाँ अध्ययनले वातावरणीय प्रदूषणको एउटा ठूलो हिस्सा मानिने ‘माइक्रोप्लास्टिक’ को मात्रा वैज्ञानिक अध्ययनहरूमा वास्तविकभन्दा बढी देखिएको हुन सक्ने खुलासा गरेको छ। युनिभर्सिटी अफ मिसिगन का अनुसन्धानकर्ताहरूका अनुसार वैज्ञानिकहरूले प्रयोग गर्ने साधारण ‘नाइट्राइल’ र ‘लेटेक्स’ पन्जाहरू नै यसको मुख्य कारण हुन सक्छन्। ‘आरएससी एनालिटिकल मेथड्स’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार, यी पन्जाहरूमा प्रयोग गरिने ‘स्टियरेट्स’ नामक रसायन परीक्षणका क्रममा झुक्किएर माइक्रोप्लास्टिक जस्तै देखिने गर्दछ। पन्जालाई साँचोबाट सजिलै निकाल्न प्रयोग गरिने यो साबुन जस्तै पदार्थले गर्दा ल्याबका उपकरणहरूमा हजारौँको संख्यामा ‘फल्स पोजिटिभ’नतिजा आउने गरेको पाइएको छ।
अनुसन्धानकर्ता मेडलिन क्लाफ र प्रोफेसर एन म्याकनिलले गरेका प्रयोगहरूमा यी पन्जाको सम्पर्कबाट प्रति वर्ग मिलिमिटर करिब २ हजार वटा सम्म झुक्काउने कणहरू सरेको देखिएको छ। यद्यपि, वैज्ञानिकहरूले यसको अर्थ वातावरणमा माइक्रोप्लास्टिक छैन भन्ने नभएको स्पष्ट पारेका छन्। प्रोफेसर म्याकनिलका अनुसार माइक्रोप्लास्टिकको मात्रा बढी अनुमान गरिरहेका हुन सक्ने तर वास्तवमा त्यहाँ एउटा पनि प्लास्टिकको कण नहुने बताएकी छन्।
अध्ययनले यस्तो त्रुटि कम गर्नका लागि साधारण पन्जाको सट्टा ‘क्लिनरुम ग्लब्स’ प्रयोग गर्न सुझाव दिएको छ, जसले निकै कम संख्यामा बाह्य कणहरू उत्सर्जन गर्दछन्। यो खोजले अब विश्वभरका वैज्ञानिकहरूलाई पुराना तथ्याङ्कहरू पुनः जाँच गर्न र माइक्रोप्लास्टिकको वास्तविक मात्रा पत्ता लगाउन नयाँ बाटो देखाएको छ।
