`

…अन्ततः यस्तो पत्र लेखेर अरशदले छोडे कांग्रेस

Nepal One HD २४ जेठ २०८३ १५:२७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजीह अरशदले पार्टी सदस्यता समेत त्याग्दै राजीनामा दिएका छन्।

उनले आजैदेखि लागू हुने गरी नेपाली कांग्रेसको साधारण सदस्य र पार्टी पद दुवैबाट अलग भएको घोषणा गरेका हुन्।

अरशदले पार्टीको हितमा कुरा उठाउँदा आफूलाई लगातार घेराबन्दीमा पारिएको र जिल्लाको नेतृत्वको कार्यशैलीसँग असहमति रहेको भन्दै राजीनामा दिएको बताएका छन्।

उनका अनुसार पार्टीभित्र पुराना कार्यकर्तालाई उचित सम्मान नदिइने र उनीहरूलाई विस्थापित गर्ने प्रवृत्ति बढेको देखिएको छ।

उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँगको मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु।’

यो घटनालाई स्थानीय तहमा नेपाली कांग्रेसभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रतिको प्रश्नका रूपमा हेरिएको छ।

उनको राजीनामा  पत्र यस्तो छ :

श्रीमान् सभापति ज्यू
मिति : २०८३/०२/२४

नेपाली कांग्रेस
जिल्ला कार्य समिति, कपिलवस्तु

विषय : राजीनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको २०५५ सालदेखि साधारण सदस्य रही, २०५५ फाल्गुन २९ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (कपिलवस्तु बहुमुखी क्याम्पस) को निर्वाचनबाट सदस्य पदमा विजयी भई आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको र २०६० सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भई २०६२ साल माघ ०५ गते र फाल्गुन १५ गते जनआन्दोलनको क्रममा गिरफ्तार भई, २०६२ साल चैत्र २५ गते तौलिहवामा माओवादी आक्रमणको समयमा गिरफ्तारीबाट मुक्त भएको र त्यसपश्चात २०६३ साल फाल्गुन १२ गते सम्पन्न नेविसंघको ८औं जिल्ला अधिवेशनबाट कपिलवस्तु जिल्लाको सभापति निर्वाचित भई पार्टीप्रति समर्पित रहेर संगठन गर्दै आएको छु। हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह-सचिव पदमा रही काम गर्दै आएको छु।

निरन्तर नेपाली कांग्रेसमा काम गर्दा अग्रजहरूको सम्मान गर्दै पार्टीभित्रका अनियमितताविरुद्ध आफ्नो आवाज सधैं बुलन्द गर्दै आएको थिएँ। तर कपिलवस्तु कांग्रेसको नेतृत्वको पृष्ठभूमि बागी र विद्रोही रहेको हुँदा पार्टीका पुराना कार्यकर्ताहरूलाई विस्थापित गर्ने खालको व्यवहार देखिएकाले म आफ्नो पदमा रही पार्टीप्रति इमान्दार कार्यकर्ताहरूलाई सम्मान दिलाउन असफल भएको छु।

पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँग मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु। आगामी दिनहरूमा म महामानव विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटो र प्रजातान्त्रिक मूल्य र मान्यताप्रति स्वतन्त्र रहँदै इमान्दार रहने गरी देश र जनताप्रति समर्पित रहने छु।

बोधार्थ :
मो. वाजीह अरशद
सह-सचिव
नेपाली कांग्रेस जिल्ला कार्य समिति, कपिलवस्तु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *