जनआकाङ्क्षा पूरा गर्न सरकारलाई वर्षमान पुनको आग्रह
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान परिवर्तन र उपलब्धिहरूलाई संस्थागत गर्दै जनआकाङ्क्षा पूरा गर्न सरकार र नवनिर्वाचित शक्तिलाई आग्रह गरेका छन्। पुनले प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूहरू इतिहासका साक्षी र सङ्घर्षका उत्तराधिकारीका रूपमा सदनमा उपस्थित भएको बताए। उनले नयाँ जनमतलाई परिवर्तनको संवाहकका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै विगतका आन्दोलन र जनयुद्धकै कारण आज राज्यका विभिन्न निकायमा महिला, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सम्भव भएको स्मरण गराए। उनले २० वर्षअघिको तुलनामा महिलाहरूको सम्पत्तिमा पहुँच र राज्यका उच्च पदमा सहभागिता उल्लेखनीय रूपमा बढ्नु ठूलो उपलब्धि भएको जिकिर गरे ।
पुनले विकासका सूचकहरू पनि प्रस्तुत गर्दै १८ वर्षअघि करिब १९ हजार किलोमिटर रहेको सडक सञ्जाल अहिले सवा लाख किलोमिटर पुग्नु विकासको तीव्रताको उदाहरण भएको बताए। तर, भदौ २३ र २४ मा देखिएको युवा असन्तोषले विकास र सुशासन अझ प्रभावकारी हुन नसकेको संकेत गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्नेमा उनले जोड दिए।
पूर्वमन्त्री समेत रहेका पुनले नयाँ राजनीतिक शक्ति र वर्तमान सरकारलाई विगतका अनुभवबाट सिक्न सुझाव दिए। २०६४ सालमा माओवादी र २०७४ सालमा तत्कालीन नेकपाले प्राप्त गरेको झण्डै दुई तिहाइ जनमतको सही उपयोग गर्न नसकिएको स्वीकार गर्दै उनले नयाँ नेतृत्वलाई ती कमजोरी नदोहो¥याउन आग्रह गरे।
संविधान संशोधनबारे धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे। यस्ता उपलब्धिलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो। साथै, सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी कार्यहरू टुङ्ग्याउन सरकारले अग्रसरता लिनुपर्ने आवश्यकता उनले औंल्याए।
अन्त्यमा, उनले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र युवाहरूका लागि देशभित्रै रोजगारी सिर्जना गर्ने विषयमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्ने समेत उल्लेख गरे।
