पूर्वगृहमन्त्रीले बोल्दा ‘धारे हात’ लगाएका गृहमन्त्री गुरुङ सोफामा सुते, ब्युँझिएर लेखे-जनतामाथि सरकार हुँदैन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मन्त्रालयकै सोफामा मस्त सुतेको तस्बिर शुक्रबार बिहानैदेखि भाइरल छ ।
मानिसहरूले उनको तस्बिरबारे सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया जनाइरहेका छन् ।
बिहीबार दिउँसो प्रतिनिधिसभा बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले रास्वपाको ‘जादुमयी विजय’मा बारबरा फाउन्डेसन, टीओबीलगायतको भूमिका रहेका भन्दै आक्रोशभावमा धारे हात लगाएका उनी राति सोफामा सुतेका थिए ।
सोही तस्बिर आफ्ना फेसबुकबाट सार्वजनिक गर्दै उनले लेखे, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
विगतमा संविधान मास्नेसम्मका अभिव्यक्ति दिएका गृहमन्त्री गुरुङ संविधानकै धारा ७६ को उपधारा १ अनुसार गठित बालेन सरकारमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।
उनै गुरुङ सोफामा सुतेर उठेपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) गए, जहाँ जेन–जी घाइतेको उपचार भइरहेको छ ।
उक्त अस्पताल भने विगतमा एमबीबीएस सर्टिफिकेटमा कीर्ते गरेको आरोप लागेका कांग्रेसका पूर्वसांसद डा. सुनिल शर्माको हो ।
शर्माले गृहमन्त्री गुरुङ आफ्ना अस्पतालमा पुगेपछि जेन–जी घाइतेहरूको निःशुल्क उपचार भइरहेको जानकारी दिए । शर्माको कुरा सुनेपछि गुरुङ खुसी भए ।
