संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको कुरा(भिडियाे)
काठमाडौं । सांसद अच्युतम लामिछानेले नुवाकोटसहित देशका विभिन्न जिल्लामा बढ्दो बाँदर आतंक नियन्त्रण गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदरको अस्वाभाविक वृद्धि कारण मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको बताएका हुन्।
लामिछानेले बाँदर नियन्त्रण नगर्ने हो भने कृषिमा लगानी निरर्थक हुने अवस्था आउन सक्ने चेतावनी दिए। उनका अनुसार बाँदरको आक्रमणले कृषि उत्पादनमा ठूलो क्षति पुर्याएको छ भने स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको छ।
उनले सरकारले बाँदर नियन्त्रणका लागि बन्द्याकरण (स्टेरिलाइजेसन) कार्यक्रम सञ्चालन कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए। विशेषगरी आधुनिक र सुरक्षित ‘मिनिमल इन्वेसिव ल्याप्रोस्कोपिक’ विधिबाट प्रजनन नियन्त्रण गर्न सकिने र यो मानवीय उपाय भएको उनको भनाइ थियो।
‘नुवाकोट लगायत देशका विभिन्न भागहरूमा बाँदरको अस्वाभाविक वृद्धि भई मानव वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ,’ उनले भने, ‘विशेषगरी मिनिमल इन्वेसिव लैपरोस्कोपिक मेथड जस्तो आधुनिक, सुरक्षित र वैज्ञानिक शल्यक्रिया विधिबाट बाँदरको प्रजनन नियन्त्रण गर्न सकिने व्यवस्था अत्यंतै प्रभावकारी र मानवीय उपाय हो।’
नेपालमा करिब पाँच लाख बाँदर रहेको अनुमान गर्दै उनले प्रति बाँदर करिब १५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिए र आवश्यक बजेट विनियोजन गर्न माग गरे।
उनले नुवाकोटका कृषकले उत्पादन गरेको आलुको उचित मूल्य नपाएर नष्ट गर्नुपरेको अवस्था पनि संसदमा उठाए।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद आरेन राईले पनि बाँदर आतंक नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
