`

निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदार हो : राष्ट्रपति पौडेल (भिडियो)

Nepal One HD २७ चैत २०८२ १३:२८
अर्थ समाचार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार तथा देशको आर्थिक इन्जिनका रूपमा हेर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र सबल भए मात्र समग्र राष्ट्रिय अर्थतन्त्र मजबुत हुने धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले कोभिड महामारीको असर,आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र पछिल्ला आर्थिक व्यवस्थापनका कमजोरीले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे। यस्तो चुनौतीपूर्ण अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिए।

नेपाल चेम्बर अफ कमर्सले आर्थिक विकास, लगानी प्रवर्द्धन र नीति सुझावमा खेलेको भूमिकाको उनले प्रशंसा पनि गरे। देशको भविष्य युवा पुस्तामा निर्भर रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रतिभा पलायन रोक्न स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले उद्यमशीलता, प्रविधि र सिर्जनशीलतालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताउँदै डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा चित्रण गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने स्पष्ट पारे।

उनले जननिर्वाचित सरकार र संसद्को मुख्य दायित्व सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्नु र जनताको जीवनस्तर उकास्नु भएको उल्लेख गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउनुपर्नेमा पनि राष्ट्रपति पौडेलले जोड दिए।

उनले व्यापार, उद्योग र आर्थिक गतिविधिको विकास नै समृद्धिको आधार भएको भन्दै राज्य र निजी क्षेत्र दुवैको समान जिम्मेवारी रहेको बताए।

अन्त्यमा उनले सबै पक्षलाई मिलेर स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणतर्फ अघि बढ्न आग्रह गरे।

उनको भनाई:

‘राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यत्तिकै भूमिका हुन्छ । त्यस्तै निजी क्षेत्रलाई विकासको यो अभियान साथमा लिएर सरकारले अघि बढ्न जरुरी छ भन्ने म ठान्दछु । व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धितर्फ जुट्न यो अवसरमा म सबैलाई आह्वान गर्दछु । हामी सबैले मिलेर स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणालीको निर्माणमा ध्यान दिनु आवश्यक छ । संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्छ । आजको विश्व प्रतिष्पर्धात्मक अर्थतन्त्रको युगमा हामीलाई परम्परागत सोच भन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू आवश्यक छन् । डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो । हामीले भुल्न नहुने एउटा महत्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ । निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु ।’

भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *