म्यानमारका पूर्वराष्ट्रपति मिन्ट रिहा,सुकीको सजाय कटौती
एजेन्सी। म्यानमारका पूर्वराष्ट्रपति विन मिन्ट रिहा भएका छन्। त्यस्तै, जेलमा रहेकी नेत्री आङ सान सुकी को सजाय कटौती गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
नवनिर्वाचित राष्ट्रपति मिन आङ ह्लाइङको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा विन मिन्टलाई माफी दिइएको उल्लेख छ।
सरकारी टेलिभिजनका अनुसार नयाँ राष्ट्रपतिले ४ हजार ३३५ कैदीहरूको सजाय माफी गरेका छन्।
म्यानमारमा सामान्यतया जनवरीको स्वतन्त्रता दिवस र अप्रिलको नयाँ वर्षका अवसरमा कैदीहरूलाई माफी दिने चलन रहँदै आएको छ।
सुकीको सजाय भने छ भागको एक भागले घटाइएको छ। उनी हाल २७ वर्षको जेल सजाय भोगिरहेकी छन्।
तर उनी बाँकी सजाय जेलमै वा नजरबन्दमा पूरा गर्ने भन्ने विषय स्पष्ट भइसकेको छैन।
सुकीमाथि भ्रष्टाचार, चुनावी अनियमितता, राज्य गोपनीयता उल्लंघन र जनतालाई उक्साएको लगायतका आरोप लगाइएको छ, जसलाई उनका सहयोगीहरूले राजनीतिक रूपमा प्रेरित भनेका छन्।
