सिभिल हस्पिटलमा सेवा सहज बनाउन मन्त्री रावलको निर्देशन
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री प्रतिभा रावलले निजामती कर्मचारीले उपचारका लागि बेड नपाउने वा सेवा नपाई फर्किनुपर्ने अवस्था तत्काल अन्त्य गर्न निर्देशन दिएकी छन्।
निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहमा देखिएका समस्या समाधान गरी गुणस्तरीय र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरिन्।
मन्त्री रावलले अस्पतालमा बिग्रिएका उपकरण तथा मेसिनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन, सेवा अवरोध हुन नदिन तथा भिड व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन्। साथै, सुधारसम्बन्धी प्रतिवेदनहरू संकलन गरी ३० दिन, तीन महिना, छ महिना र एक वर्षका चरणमा विभाजन गरेर कार्यान्वयन गर्न निर्देशन दिइन्।
उनले निजामती अस्पताललाई कर्मचारीका लागि समर्पित अस्पतालका रूपमा विकास गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी, दरबन्दीभन्दा बढी कर्मचारी व्यवस्थापन गर्न, सेवा प्रवाह सुधार गर्न तथा सेवा विस्तारलाई प्रदेशस्तरमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। साथै, अस्पतालको सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने, शैक्षिक संस्थाका रूपमा विकास गर्ने तथा क्यान्सर उपचार, बोन म्यारो ट्रान्सप्लान्टलगायत सेवा विस्तारमा प्राथमिकता दिनुपर्ने बताइन्।
पूर्वाधार विकासमा देखिएका अवरोध समाधान गर्न आवश्यक परे नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकार अस्पतालको विकासमा सहयोग गर्न तयार रहेको स्पष्ट पारिन्।
