हर्कको प्रस्तावमा प्रधानमन्त्री गायब ! राष्ट्रपति प्रत्यक्ष जननिर्वाचित
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्दा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने व्यवस्थामा जानुपर्ने बताएका छन् ।
अहिले सांसदहरूले राष्ट्रपति चुन्नुपर्ने व्यवस्था छ । संशोधन गर्दा यो व्यवस्था हटाएर प्रत्यक्ष रूपमा जनताबाट राष्ट्रपति चुन्ने प्रणालीमा जानुपर्ने तर्क साम्पाङले गरेका हुन् ।
संविधान संशोधनका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्ना राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा दलहरूबाट प्रतिनिधि पठाइसकेको अवस्था छ ।
कार्यदलको यसअघि एकपटक बैठक बसेको छ । संविधान संशोधनमा दलीय एजेन्डा कार्यदलले खोजेको छ । यस्तोमा साम्पाङले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय मोडलमा जानुपर्ने तर्क गरेका हुन् ।
यो प्रस्तावले राष्ट्रपतिलाई कार्यकारी प्रमुखमा अघि सारेको हो । यस्तै, साम्पाङले प्रधानमन्त्रीको आवश्यकता ठानेका छैनन् । उनले संविधान संशोधन कार्यशालालाई बुझाएको प्रस्तावमा प्रधानमन्त्रीको व्यवस्था उल्लेख छ ।
कार्यकारी प्रमुख राष्ट्रपतिले नै पायकका व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने भनिएको छ । मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, लिङ्गको आधारमा समावेशी चरित्रको हुनुपर्ने पनि प्रस्ताव गरेको छ ।

