`

महेश बस्नेतको आरोप: ‘माइतीघरमा मेरो श्रीमतीमाथि गालीगलौज गरियो’

Nepal One HD १४ वैशाख २०८३ १६:१८
समाचार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो श्रीमतीमाथि गालीगलौज र हातपात भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साइबर ब्युरोमा उजुरी दिन जाँदै गर्दा माइतीघर मण्डलामा भएको घटनाबारे गम्भीर टिप्पणी गरेका हुन्।

‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्,’ उनले लेखेका छन्  

बस्नेतका अनुसार साइबर अपराधविरुद्ध उजुरी दिन जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दा केही व्यक्तिहरूले उनकी श्रीमतीसहित अन्य महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेको देखिएको थियो। उनले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्।

उनले केही सञ्चार माध्यमहरूले घटनालाई गलत रूपमा प्रस्तुत गर्दै भ्रामक समाचार फैलाएको आरोप लगाएका छन्। साथै, माइतीघर मण्डलाजस्तो सार्वजनिक स्थललाई व्यक्तिको चरित्र हत्या गर्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्।

बस्नेतले सरकार मौन दर्शक बनेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले न्याय नपाइए सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।

‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन।’ बस्नेत अगाडि थप्छन्। 

यसैबीच, आज दिउँसो माइतीघरमा अम्बिका बस्नेत र शोभा पाठकबीच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *