राष्ट्रपतिले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेनलाई सजिलो, संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले परिषद्को बैठक आह्वान गरेका छन्।
अध्यादेशले महत्वपूर्ण संवैधानिक पदहरु पुर्ती गर्न शाहको निर्णयलाई निर्णयाक हुने गरी व्यवस्था गरेको छ। अर्थात् राष्ट्रपतिले जारी गरेको अध्यादेशले संवैधानिक परिषद्को बैठकमा निर्णयका लागि प्रधानमन्त्री जतातिर उभियो त्यसलाई नै अन्तिम निर्णय बनाउनेछ। यसअघि ६ सदस्यीय परिषद् मा चार जनाको बहुमतबाट निर्णय गर्ने व्यवस्था थियो।
बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आह्वान गरिएको हो । सर्वोच्च अदालतकी वरिष्ठ न्यायधिश सपना प्रधान मल्लको प्रधानन्यायधिश बन्ने चर्चा हुँदै आएको छ।
संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्री कार्यलयकी प्रमुख प्रेस सल्लाहकार दीपा दाहालले जानकारी गराएकी छन् । सर्वोच्च अदालतको नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयका लागि बोलाइएको यो बैठकलाई संवैधानिक तथा न्यायिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
