नेपालमा विषालु सर्प : कसरी बच्ने ?
काठमाडौं। संसारभर करिब ३ हजार ९०० भन्दा बढी प्रजातिका सर्प पाइन्छन्। तीमध्ये करिब ६०० प्रजाति विषालु मानिन्छन्, जुन कुल सर्पको करिब १५ देखि २० प्रतिशत हो। तर यी विषालु सर्पहरूमध्ये पनि करिब २०० प्रजातिले मात्र मानिसलाई गम्भीर खतरा पुर्याउन सक्छन्। बाँकी अधिकांश सर्पहरू विषालु हुँदैनन् र मानिसलाई कुनै हानि गर्दैनन्।
नेपालमा करिब ८९ प्रजातिका सर्प पाइन्छन्। जसमा करिब १७ देखि २२ प्रजाति विषालु रहेका छन्। सर्पदंश न्यूनीकरण र सर्प संरक्षणमा कार्यरत विज्ञ कमल देवकोटाका अनुसार सर्प मानिसको शत्रु होइन। बरु प्रकृतिको सन्तुलनका लागि आवश्यक प्राणी हो। उनी भन्छन्, ‘सर्पको आहार मानिस होइन। उसले खतरा महसुस गरे मात्र टोक्छ।’
नेपालमा पाइने विषालु सर्पमध्ये गोमन (कोब्रा), करेत, भाइपर र राजगोमन प्रमुख मानिन्छन्। गोमन सर्प प्रायः तराई क्षेत्रमा बढी पाइन्छ भने चन्द्रनागजस्ता प्रजाति पहाडी क्षेत्रमा पनि भेटिन्छन्। करेत सर्प राति सक्रिय हुने र प्रायः घरभित्र समेत पस्ने स्वभावका कारण बढी खतरनाक मानिन्छ। भाइपर समूहका सर्प तराईदेखि पहाडी क्षेत्रमा पाइन्छन्, जसमा रसेल्स भाइपर र हरियो पिट भाइपर प्रमुख हुन्। यस्तै, राजगोमन संसारकै सबैभन्दा लामो विषालु सर्प हो, जुन नेपालका तराईदेखि पहाडी क्षेत्रसम्म पाइन्छ।
सर्पहरू तराई, पहाड र हिमाल तीनै क्षेत्रमा पाइने भए पनि तराईमा गोमन, करेत र बाघे सर्प बढी देखिन्छन् भने पहाडी क्षेत्रमा चन्द्रनाग र हरियो सर्प बढी पाइन्छन्। विज्ञहरूका अनुसार सर्प पहिलेबाटै यी क्षेत्रमा थिए, तर अहिले उद्धार कार्य र सामाजिक सञ्जालका कारण बढी देखिएको मात्र हो।
सर्पले मानिसलाई आक्रमण गर्ने स्वभाव राख्दैन। उसले आफूलाई खतरा महसुस गरेपछि मात्र टोक्ने गर्छ। मानिसले कुल्चिँदा, छुँदा वा समात्ने प्रयास गर्दा सर्पले आत्मरक्षाका लागि टोक्ने गर्छ। धेरैजसो अवस्थामा सर्प मानिस देखेपछि भाग्ने प्रयास गर्छ।
घरआँगन वा खेतबारीमा सर्प देखिएमा मार्नु हुँदैन भन्ने विज्ञहरूको सुझाव छ। सर्पले मुसा, कीरा र अन्य हानिकारक जीव खाएर पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। त्यसैले सर्प देखिए शान्त रहनु, टाढैबाट हेर्नु र स्थानीय सर्प उद्धार टोली वा सम्बन्धित निकायलाई खबर गर्नु उपयुक्त हुन्छ।
सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ। झाडी, घाँस, ढुंगाको काप, काठको थुप्रो र अँध्यारो ठाउँहरू सर्पको सम्भावित बासस्थान भएकाले त्यस्ता स्थानमा सावधानीपूर्वक हिँड्नुपर्छ। खेतबारी वा जंगल जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु उपयुक्त हुन्छ। जुत्ता लगाउनुअघि भित्र सर्प छ कि छैन जाँच गर्नु आवश्यक हुन्छ।
रातिको समयमा सर्प बढी सक्रिय हुने भएकाले टर्च लाइटको प्रयोग गरी हिँड्नुपर्छ। घर वरपर सफा राख्ने, झाडी र फोहोर हटाउने तथा जमिनका प्वाल पुर्ने जस्ता उपायहरूले पनि सर्पको जोखिम कम गर्न सकिन्छ। सर्पलाई नछुने, नजिस्काउने र मरेको जस्तो देखिए पनि नचलाउने सावधानी अपनाउनुपर्छ।
सर्पले टोकेमा सबैभन्दा पहिले आत्तिनु हुँदैन। टोकिएको भाग कम चलाउनु, हल्का कपडाले बाँध्नु र तुरुन्त नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउनु आवश्यक हुन्छ। सकेसम्म सर्पको फोटो खिचेर उपचारमा सहयोग पुर्याउन सकिन्छ। सर्पदंशको अवस्थामा झारपात लगाउने, घाउ काट्ने वा मुखले विष चुस्ने जस्ता परम्परागत तरिका अपनाउनु अत्यन्त खतरनाक मानिन्छ।
विज्ञहरूका अनुसार सर्पदंशको उपचारमा एन्टिभेनम नै मुख्य उपाय हो, त्यसैले समयमै अस्पताल पुग्नु जीवन बचाउने सबैभन्दा महत्वपूर्ण कदम हो। सही जानकारी, सचेतना र सावधानी अपनाउन सके सर्पदंशका धेरैजसो घटना रोक्न सकिन्छ।
