`

बालेनलाई गरिबमारा भन्दै दुर्गा प्रसाईंले जनाए असन्तुष्टि (भिडियो)

Nepal One HD २६ वैशाख २०८३ १३:१९
भिडियो

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति असन्तुष्टि जनाउँदै गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाएका छन्।

भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले जीवनभरको मेहनतबाट बनेका घरहरू भत्काइँदा गरिबका सपना चकनाचुर भएको बताए।

उनका अनुसार ती बस्तीहरूमा बस्ने धेरैजसो मानिसहरू मजदुरी, सानो व्यवसाय र दैनिक श्रम गरेर जीवन चलाउने वर्ग हुन्। उनले भने, ‘कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर, कसैले भारी बोकेर घर बनाएका थिए, तर ती सबै घर भत्काइयो। घरमात्र होइन, गरिबका सपना पनि भत्किए।’

प्रसाईँले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोगमार्फत फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको आरोप पनि लगाए। उनका अनुसार सरकारले धनी वर्गकेन्द्रित शहर निर्माण गर्ने नीति लिएको छ, जसले मजदुर र श्रमिक वर्गलाई बेवास्ता गरेको छ।

उनले थपे, ‘हामीलाई धनी मात्र होइन, मजदुर, ड्राइभर, खलासी, मोची, नाई सबै चाहिन्छ। अहिले सिटीलाई धनी केन्द्रित बनाउने प्रयास भइरहेको छ।’

प्रसाईँले चुनावअघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दाबी गर्दै अहिलेका राजनीतिक नेतृत्वप्रति पनि आलोचना गरे। उनले बालेन शाहलाई प्रधानमन्त्री बनाउने नाममा गरिबलाई विस्थापित गर्ने योजना चलिरहेको टिप्पणी गरे।

उनले शक्ति जनतामा हुनुपर्ने भन्दै वर्तमान राजनीतिक अभ्यासमा सचेत रहन चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *