प्रचण्डले भने – ‘कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको छ’
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभिन्न बहस, विवाद, विभाजन र एकताको प्रक्रियाबाट अघि बढिरहेको बताए।
उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ। सच्चा कम्युनिस्टहरूको बीचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ।’
प्रचण्डले देशमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण बनेको उल्लेख गरे। उनका अनुसार पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिहरूलाई कमजोर पार्ने रणनीति अन्तर्गत विभिन्न गतिविधि भएको भए पनि त्यसका सबै पक्ष अझै सार्वजनिक नभइसकेको बताए।
उनले ‘के के भएका थिए पर्दाभित्र, अनुसन्धान हुँदै जाला’ भन्दै आगामी दिनमा ती विषयहरू उजागर हुने संकेत गरे। साथै उनले कम्युनिस्ट शक्तिहरूलाई कमजोर पार्ने प्रयास देशी तथा विदेशी रूपमा भइरहेको दाबी पनि गरे।
