किन अड्कियो प्रहरीको सरुवा?
काठमाडौं। नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सरुवा रोकिएका छन्।
सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि हाल एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सरुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
इन्स्पेक्टरले कमान्ड गर्ने इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा प्रभागहरूमा पनि सरुवा हुन सकेको छैन। त्यस्तै डीएसपीले नेतृत्व गर्ने जिल्ला, वृत्त तथा इलाकाहरूमा समेत सरुवा प्रक्रिया रोकिएको छ। एसपीले कमान्ड गर्ने जिल्ला तथा गणहरूको सरुवा पनि अड्किएको छ।
एसएसपी तहको सरुवाको तयारी भए पनि हालसम्म निर्णय हुन सकेको छैन।
स्रोतका अनुसार प्रहरी सरुवासम्बन्धी निर्णयमा ढिलाइ देखिनुको पछाडि राजनीतिक परिस्थिति र नेतृत्वगत कारण रहेको बताइएको छ। एसपीसम्मको सरुवा अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी प्रमुख (आईजीपी) लाई भए पनि उच्च तहका सरुवामा भने गृहमन्त्रीस्तरीय निर्णय आवश्यक पर्छ।
उच्च तहका सरुवामा देखिएको ढिलाइका कारण प्रहरी संगठनभित्र अन्योल बढेको बताइएको छ।
यसबीच काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयजस्ता युनिटहरू एसएसपीका लागि आकर्षक मानिएका छन्।
हाल ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाल एक वर्ष पूरा हुन केही दिन मात्र बाँकी छ। तर काठमाडौं, ललितपुर र अपराध अनुसन्धान कार्यालयका एसएसपीको भने अझै एक वर्ष पूरा भएको छैन।
पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाका केही महत्वपूर्ण युनिटमा एक वर्षभन्दा बढी समय एउटै एसएसपी बस्ने उदाहरण कमै देखिएको छ।
जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा कमान्ड एसएसपी रमेश थापाले सम्हालेका थिए। त्यसयता प्रहरी व्यवस्थापन क्रमशः सुधारिएको बताइन्छ।
यसपटक आकर्षक मानिएका युनिटका लागि एसएसपी दयानिधि ज्ञवाली, दिलीप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले र सुवास बोहरालगायतको नाम चर्चामा छ।
चुनावी सुरक्षा योजना, इन्टेलिजेन्स र जेनजी आन्दोलनका क्रममा उत्कृष्ट काम गरेका ज्ञवाली हाल कार्य विभागमा छन्। संघीय राजधानीको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यी अधिकारीहरूबीच तीव्र लबिइङ भइरहेको स्रोतको दाबी छ।
