`

बालेनको अनुहार हेर्न संसदमा आउनु भनेका होइनौँ : ओली

Nepal One HD ३१ वैशाख २०८३ १२:००
भिडियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति उनको अनुहार हेर्न नभएको बताएकी छन् ।

सदनप्रति जवाफदेही खोज्न मात्रै प्रधानमन्त्री बालेनको सहभागिता अनिवार्य रहेको बताइन् ।
‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्रै होइन । यो निरन्तर संवादको अभ्यास पनि हो ।

यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउन खोज्नु, सहभागिता खोज्नु, केवल उहाँको अनुहार हेर्न होइन,’ उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भनिन्, ‘उहाँबाट जवाफदेही खोजेका हौँ ।’
उनले पहिलो अधिवेशनमा प्रधानमन्त्री बालेन नबोलिकन गएको, त्यसलाई आफूहरूले स्वीकारको तर यसपटक नस्वीकार्ने बताइन् ।

नीति तथा कार्यक्रम बालेन सरकारको भएको भन्दै उनले त्यसप्रति प्रधानमन्त्री बालेनको अपनत्व नभएको महसुस भएको पनि बताइन् ।
तर, प्रधानमन्त्री बालेनलाई संसदप्रति नै अनिच्छा रहेको देखिएको पनि दाबी गरिन् ।
‘हामी संसदमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ । प्रधानमन्त्री सामाजिक सञ्जालको पोष्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ ।

आज नीति तथा कार्यक्रममा सहभागी भइदिनुहोस् प्रधानमन्त्रीज्यू,’ उनले भनिन्, ‘सायद प्रधानमन्त्री यो सदनप्रति अनिच्छुक हुनुहुन्छ । यो संसदीय अभ्यासप्रति उत्तरदायी हुन खोजिरहनु भएको छैन ।’
उनले जसरी पनि प्रधानमन्त्री बालेनको सहभागिता हुनुपर्ने भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *