प्रधानमन्त्रीको जुत्ता ‘कुल ट्रेन्ड’ : विपिन आचार्य(भिडियाे)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्य ले प्रतिनिधिसभा सञ्चालन र प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहिताबारे टिप्पणी गरेका छन्।
सभामा बोल्दै उनले प्रधानमन्त्रीले सभामा प्रयोग गर्ने शैली र आचरणले प्रतिनिधिसभाको मूल्य–मान्यतामा प्रभाव पार्न सक्ने बताएका छन्। उनले प्रधानमन्त्रीले लगाएको स्पोर्ट्स जुत्ता जस्ता विषयलाई ‘कूल ट्रेन्ड’का रूपमा व्याख्या गरिए पनि त्यसले सभाको गरिमा र परम्पराविरुद्ध सन्देश दिन सक्ने उल्लेख गरे।
आचार्यले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने परम्परा रहेको भन्दै त्यसलाई नियम र कार्यविधिभन्दा बाहिर जान नहुने स्पष्ट पारे। उनका अनुसार संसदका स्थापित नियमहरू सबैका लागि समान रूपमा लागू हुनुपर्छ।
उनले विपक्षी दलले प्रधानमन्त्रीको जवाफदेहिताबारे चासो राखेमा प्रतिनिधिसभाको प्रक्रिया अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने कानुनी बाटो प्रयोग गर्न सकिने पनि बताए।
आचार्यले संसदबाहिर गएर लोकतान्त्रिक अभ्यास कमजोर बनाउने कुनै पनि प्रयास उचित नहुने उल्लेख गर्दै सबै पक्ष संसदप्रति जिम्मेवार रहनुपर्नेमा जोड दिए। उनले देशको नीति तथा कार्यक्रम सफल बनाउनु सबै जनप्रतिनिधिको साझा दायित्व भएको टिप्पणीसमेत गरे।
