`

चीनबाट उड्नेबित्तिकै ट्रम्पको फोन किन घुम्यो जापानतिर ?

Nepal One HD ३ जेठ २०८३ ११:५२
फिचर

एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङसँगको बहुप्रतीक्षित शिखरवार्ता सकेर बेइजिङबाट फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महत्वपूर्ण कूटनीतिक कदम चालेका छन् ।

चीनको रातो कार्पेट र उच्च सम्मानसहितको वार्ता सकिएलगत्तै आफ्नो विमान ‘एयर फोर्स वान’ बाट उड्नेबित्तिकै ट्रम्पले कुनै पश्चिमा शक्ति वा युरोपेली मित्रराष्ट्रलाई नभई सिधै जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँग फोन वार्ता गरेका छन् ।

चीनबाट उडेको करिब चार घण्टापछि विमानमै गरिएको १५ मिनेट लामो फोन संवादलाई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ । चिनियाँ राष्ट्रपति सीले ताइवानबारे कडा चेतावनी दिएको भोलिपल्टै ट्रम्पले जापानसँग संवाद गर्नु ताइवान सुरक्षा रणनीतिसँग जोडिएको रूपमा विश्लेषण गरिएको छ ।

भूराजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्पले ताकाइचीलाई पहिलो सम्पर्क गर्नुका पछाडि भूगोल, सैन्य उपस्थिति, आर्थिक प्रभाव र प्रविधि जस्ता चार मुख्य कारण रहेका छन् ।

पहिलो, जापानको भौगोलिक अवस्थिति प्रशान्त क्षेत्रमा चीनको सैन्य विस्तार रोक्ने प्रमुख अवरोधका रूपमा रहेको छ । जापानको योनागुनी टापु ताइवानबाट करिब ११० किलोमिटर मात्र टाढा भएकाले सम्भावित ताइवान संकटमा जापान स्वतः संवेदनशील क्षेत्र बन्ने देखिन्छ ।

दोस्रो, जापानमा हाल करिब ५५ हजार अमेरिकी सैनिक तैनाथ छन् । ओकिनावास्थित काडेना एयर बेस र योकोसुकास्थित अमेरिकी नौसैनिक आधार एसियामा अमेरिकी सैन्य उपस्थितिको प्रमुख केन्द्र मानिन्छन् ।

तेस्रो, आर्थिक दृष्टिले जापान अमेरिकाको सबैभन्दा ठूलो विदेशी ऋणदाता हो । करिब १२ खर्ब अमेरिकी डलर बराबरका अमेरिकी ट्रेजरी बन्ड जापानसँग रहेको उल्लेख छ, जसले अमेरिकी वित्तीय स्थिरतामा प्रभाव पार्ने मानिन्छ ।

चौथो, प्रविधिको क्षेत्रमा जापान विश्वव्यापी आपूर्ति शृंखलाको केन्द्रमा छ । सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक फोटोरेजिस्ट र सिलिकन वेफर्स जस्ता सामग्रीको ठूलो हिस्सा जापानी कम्पनीहरूले आपूर्ति गर्छन्, जसले एआई र चिप उद्योगमा निर्णायक भूमिका खेल्छ ।

पछिल्लो ६ महिनादेखि चीनले जापानमाथि आर्थिक तथा कूटनीतिक दबाब बढाउँदै आएको छ । समुद्री खाद्य निर्यातमा रोकदेखि चिनियाँ पर्यटकहरूलाई जापान भ्रमण नगर्न चेतावनीसम्मका कदम बेइजिङले चालेको छ ।

जापानले ताइवानमाथि कुनै आक्रमण भए त्यसलाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको खतरा मान्ने संकेत दिएपछि चीन–जापान तनाव थप चुलिएको हो ।

यस परिस्थितिमा ट्रम्प र ताकाइचीबीचको यो संवादले इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिका–जापान गठबन्धन अझ मजबुत भएको सन्देश दिएको विश्लेषण गरिएको छ । आगामी दिनमा यस क्षेत्रको शक्ति सन्तुलन यसै कूटनीतिक समीकरणमा निर्भर रहने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *