आइतबार बिदाले विद्यार्थीलाई बोझ बढाउने भन्दै सांसद शर्माको आपत्ति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले जारी गरेको निर्देशिकाअनुसार विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबीच तालमेल नमिलेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले गरेको निर्णयले शिक्षण संस्थामा नकारात्मक असर परेको बताइन् ।
उनले भनिन्, ‘एक वर्षभरिको पाठ्यक्रम त्यसमाथि आइतबारको बिदाले विद्यार्थीको पढाइमा गुणात्मक सुधार हुन्छ कि हुँदैन ?’
सांसद शर्माले सरकारले पाठ्यक्रम परिमार्जन गरी संक्षेपीकरण नगरे आइतबारको बिदाले विद्यार्थीलाई थप बोझ पर्ने निश्चित रहेको दाबी गरिन् ।
उनका अनुसार सरकारले हिउँदे र बर्खे बिदामा १५ दिन कटौती गरे पनि बर्खायाममा विद्यार्थीहरू भेल र पहिरोको जोखिममा पर्ने भएकाले आइतबारको बिदा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।
उनले सरकारलाई नीति कार्यान्वयनअघि व्यवहारिक पक्षको मूल्यांकन गर्न पनि आग्रह गरेकी छन् ।
