संसदमा लाग्यो ‘मुर्दावाद’को नारा, पेलेरै अघि बढे सभामुख
काठमाडौं। प्रतिपक्षी दलहरूले उठाएको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा बैठक पेलेरै अघि बढाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी सांसदहरूले चर्को विरोध जनाएपछि संसद्मा केहीबेर ‘मुर्दावाद’को नारासमेत लागेको हो।
प्रधानमन्त्री शाहको खोजी गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, स्थगित भएर पुनः बसेको दोस्रो बैठकमा पनि विपक्षीको विरोध जारी रहेपछि सभामुख अर्यालले विरोधकै बीच कार्यसूची अघि बढाएका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो ।
तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएनन् । त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई उक्त प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
यसप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत भएदेखि नै प्रधानमन्त्री संसद्मा अनुपस्थित रहेको स्मरण गराए ।
उनीहरूले प्रधानमन्त्रीसँग प्रत्येक महिना हुनुपर्ने प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने’ व्यवस्था रहेको विपक्षी सांसदहरूले उल्लेख गरेका थिए ।
विपक्षी सांसदहरूले जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गराउँदै सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको कार्यसूची अर्को मन्त्रीमार्फत प्रस्तुत गराइएको भन्दै विरोध जनाएका हुन् ।
तर सभामुखले सत्तापक्षलाई पनि बोल्न समय दिएका थिए । रास्वपाका सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची अघि बढाउने अधिकार रहेको बताएका थिए ।
त्यसपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की र सवालजवाफ सुरु भएको थियो ।
पहिलो बैठक स्थगित भएपछि फेरि बसेको दोस्रो बैठकमा पनि विपक्षी ‘मुर्दावाद’को नाराबाजी जारी रहे तापनि सभामुखले बैठक अघि बढाएका छन्।
