राज्यलाई हिरासतबाटै दुर्गा प्रसाईंको यस्तो चुनौती
काठमाडौं । केही दिनअघि पर्साको वीरगञ्जबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई सरकारले बिना कारण पक्राउ गरेको आरोप लगाएका छन् ।
हाल प्रहरी हिरासतमा रहेका प्रसाईंले राज्यका नाममा खुला पत्र जारी गर्दै आफूलाई अन्याय गरिएको दाबी गरेका हुन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कोणसभा गर्न जान लाग्दा पनि आफूलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रशासनको अनुमति भए पनि पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रसाईंले प्रश्न गर्दै भनेका छन्, ‘यदि पक्राउ नै गर्नु थियो भने जिल्ला प्रशासन कार्यालयले स्वीकृति किन दियो ? के यो नागरिकलाई फसाउने वैधानिक पासो हो ?’
उनले आफूलाई ‘अनावश्यक रूपमा थुनिएको’ भन्दै राज्यको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन् :
‘अनुमति पत्र’ कि ‘पक्राउ गर्ने पासो’ ? कठघरामा संघीय लोकतान्त्रिक गणतन्त्र ! के यो देशमा कानुनको राज मरेकै हो ? हेर्नुहोस् यो आधिकारिक पत्र ! जिल्ला प्रशासन कार्यालय, पर्साबाट विधिवत् रूपमा प्रक्रिया पुर्याएर, लिखित रूपमा स्वीकृति लिएर मन्दिर दर्शन र शान्तिपूर्ण कार्यक्रमका लागि जाँदा मलाई प्रहरीले पक्राउ गर्यो । म यो ‘लाचार’ र ‘दोषी’ राज्य सत्तालाई सीधा प्रश्न गर्न चाहन्छु : दोष मेरो हो कि राज्यको ? यदि पक्राउ नै गर्नु थियो भने, जिल्ला प्रशासन कार्यालयले यो स्वीकृतिको नाटक किन रच्यो ?
के यो प्रशासनले नागरिकलाई फसाउन थापेको वैधानिक पासो हो ?
लाखौँ नेपालीको रगत र पसिनाबाट आएको भनिएको यो ‘गणतन्त्र’ मा एउटा नागरिकले अनुमति लिएर पनि आफ्नो आस्था प्रकट गर्न नपाउने, बोल्न नपाउने ? यदि अनुमति पत्र खल्तीमा बोकेर हिँड्दा पनि अपराधी झैँ समातिनुपर्छ भने, सम्झिनुस् देश कुन भयानक र अराजक दिशातिर जाँदैछ । प्रशासन आफैँले हस्ताक्षर गरेर दिएको पत्रलाई सडकमा गुड्ने प्रहरीले लत्याइदिन्छ भने यहाँ विधिको शासन कहाँ छ ?
यस्तो दोधारे र कायर चरित्र बोकेको राज्य व्यवस्थाले नागरिकको सुरक्षा गर्छ भनेर कसरी पत्याउने ? आफ्नो गल्ती लुकाउन र नागरिकको आवाज दबाउन प्रशासन कतिसम्म नाङ्गो नाच नाच्न सक्छ भन्ने प्रमाण यही पत्र र मेरो पक्राउ हो । तपाईंहरू जतिसुकै डण्डा बर्साउनुस्, जतिसुकै थुन्नुस्। तर याद राख्नुस्, राज्यको यो लाचारीपन, दमन र कायरताले हाम्रो आवाज र हाम्रो निष्ठालाई कहिल्यै दबाउन सक्ने छैन। आज म पक्राउ परेँ, भोलि तपाईंको पालो आउन सक्छ। यस राज्य प्रायोजित अन्यायविरुद्ध अब नबोल्ने हो भने भोलि सोध्ने अधिकार पनि बाँकी रहने छैन ! ‘सत्ताको न्यानो आसनमा बसेर मेरै विरुद्ध हतकडी तयार गर्नेहरूलाई एउटै कुरा भन्नु छ, यो सत्ता तिमीहरूले जितेको होइन, मेरो आन्दोलनले उपहार दिएको हो ! हिजोकाले पनि थुने, आज तिमीहरूले पनि थुन्यौ । तर याद राख, समयको चक्र घुमिरहन्छ। पालो सबैको आउँछ, आउँछ । फेरि पनि भन्छु
सत्ताको आडमा मलाई हिरासतमा राख्नेहरूले के ठानेका छन् ? म एक्लो छु ? म माता पाथीभराको भक्त हुँ। ममाथि भएको यो अन्याय माताले हेरिरहनुभएको छ। हेक्का रहोस्, माताको शक्ति प्रकट हुने दिन तिमीहरूको पतनको दिन हुनेछ। दिन सबैको आउँछ, तिमीहरूको पनि छिट्टै आउनेछ ! जय माँ पाथीभरा
हिरासतबाट राज्यलाई खुल्ला पत्र १ सचिवालय को सहयोग बाट !!
