मन्त्रिपरिषद् बैठकका निर्णय [भिसडियाे]
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्।
उनका अनुसार मन्त्रिपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै बैठकले अन्य तीन महत्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयसमेत गरेको सरकारका प्रवक्ताले बताएका छन्।
यस्ता छन् बैठकका निर्णयहरू:
–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।
–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।
–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।
–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।
