नेपालको पेट्रोलियम भण्डारण क्षमता : कतिदिन धान्छ ?
काठमाडौं। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता अत्यन्त सीमित रहेको देखिएको छ।
एलपीजी बाहेक देशभरको कुल भण्डारण क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर मात्र रहेको छ। जसले औसतमा करिब १६ दिनको राष्ट्रिय माग मात्र धान्न सक्ने अवस्था रहेको छ।
सर्वेक्षणअनुसार पेट्रोलको भण्डारण क्षमता २८ हजार ५ सय ४२ किलोलिटर, डिजेलको ६० हजार ४ सय २१ किलोलिटर, मट्टितेलको ४ हजार १ सय ९५ किलोलिटर तथा हवाई इन्धन (एटीएफ) को ९ हजार १ सय २३ किलोलिटर रहेको उल्लेख छ।
सीमित भण्डारण संरचनाका कारण आपूर्ति व्यवस्थापनमा जोखिम उच्च रहेको पनि प्रतिवेदनले औँल्याएको छ।
प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी भण्डारण क्षमता रहेको छ, जहाँ करिब ३७ दिनसम्मको माग धान्न सकिने क्षमता रहेको जनाइएको छ। यसको विपरीत कर्णाली प्रदेशमा सबैभन्दा कम क्षमता रहेको छ, जहाँ एक दिनको माग धान्न सक्ने मात्र भण्डारण रहेको तथ्यांकले देखाएको छ।
कुल भण्डारण क्षमताको ठूलो हिस्सा मधेश प्रदेशस्थित अमलेखगञ्ज डिपोमा केन्द्रित रहेको छ। जसमा कुल क्षमताको करिब ४३.५ प्रतिशत हिस्सा रहेको उल्लेख गरिएको छ। यसले आपूर्ति संरचना भौगोलिक रूपमा असन्तुलित रहेको संकेत गर्छ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म पेट्रोलियम पदार्थको आयात तथा बिक्री दुवै घटेको देखिएको छ।
पेट्रोलको आयात १० प्रतिशतले घटेर ४३८ हजार किलोलिटरमा सीमित भएको छ भने बिक्री ६.४ प्रतिशतले घटेर ४४१ हजार किलोलिटरमा पुगेको छ।
त्यस्तै डिजेलको आयात ९.९ प्रतिशतले घटेर ७९१ हजार किलोलिटर तथा बिक्री ८.७ प्रतिशतले घटेर ७८२ हजार किलोलिटरमा झरेको छ।
मट्टितेलको आयातमा अझ ठूलो गिरावट देखिएको छ। जुन ४७.७ प्रतिशतले घटेको छ भने बिक्री ६.१ प्रतिशतले घटेको छ।
हवाई इन्धन (एटीएफ) को आयात ८.६ प्रतिशत र बिक्री ९.३ प्रतिशतले घटेको छ। एलपीजी ग्यासको आयात ११.१ प्रतिशत तथा बिक्री १०.४ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
सरकारका अनुसार विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको माग घट्दै गएको छ।
साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उतारचढाव र भूराजनीतिक तनावले आपूर्ति तथा मूल्य व्यवस्थापनमा थप दबाब सिर्जना गरेको पनि प्रतिवेदनले जनाएको छ।
फागुन मसान्तसम्म पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम रहेको समेत आर्थिक सर्वेक्षणमा उल्लेख छ।
