केयरगिभरका लागि इजरायल जान के चाहिन्छ योग्यता ?
काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायल का दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि २ हजार ३ सय जनाको आवेदन माग गरेको छ । आवेदन जेठ १७ देखि असार ७ गतेसम्म दिन सकिनेछ ।
आवेदक २५ देखि ४५ वर्ष उमेर समूहका हुनुपर्नेछ । न्यूनतम १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल अनिवार्य गरिएको छ । साथै कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमई अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण गरी ३ महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ ।
स्वास्थ्य अवस्था राम्रो हुनुपर्ने, कुनै गम्भीर रोग नभएको र शारीरिक तथा मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्ने मापदण्ड तोकिएको छ । पासपोर्टमा कम्तीमा ३ वर्ष म्याद बाँकी हुनुपर्ने पनि उल्लेख छ ।
आवेदन अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ र शैक्षिक प्रमाणपत्र, तालिम प्रमाणपत्र तथा प्रहरी चारित्रिक प्रमाणपत्र अपलोड गर्नुपर्नेछ । अंग्रेजी भाषाको न्यूनतम दक्षता पनि अनिवार्य गरिएको छ ।
छनोट प्रक्रिया अनलाइन आवेदन, नेमचेक र लक्की ड्रमार्फत हुनेछ । पहिलो चरणमा १ हजार र बाँकी १ हजार ३ सय जनालाई क्रमशः रोजगारी प्रक्रियामा समावेश गरिनेछ ।
छनोट भएका कामदारले मासिक करिब ३ लाख ४८ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउनेछन् । हप्तामा ६ दिन काम गर्नुपर्नेछ भने आवास रोजगारदाताले उपलब्ध गराउनेछ, तर खानाको खर्च कामदार आफैले बेहोर्नुपर्नेछ । करार अवधि १ वर्षदेखि अधिकतम ५ वर्षसम्म रहनेछ ।
