`

ब्लु ओरिजिनको ‘न्यू ग्लेन’ रकेट परीक्षणमै विस्फोट

Nepal One HD १५ जेठ २०८३ १३:१३
विज्ञान-प्रविधि

एजेन्सी। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनलाई फेरि ठूलो झट्का लागेको छ।

कम्पनीको महत्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको प्रक्षेपण स्थलमा बिहीबार गरिएको परीक्षणका क्रममा विस्फोट भएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। तर यो दुर्घटनाले कम्पनीको दीर्घकालीन अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न उठाएको छ।

कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अचानक प्राविधिक समस्या उत्पन्न भएपछि विस्फोट देखापरेको हो। ब्लु ओरिजिनले सामाजिक सञ्जालमार्फत सबै कर्मचारी सुरक्षित रहेको जानकारी सार्वजनिक गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट पहिले बाक्लो धुवाँ निस्कँदै गएको र केही क्षणमै ठूलो आगोको मुस्लोमा परिणत भएको दृश्य देखिएको छ।

न्यू ग्लेन रकेटलाई कम्पनीको भविष्यको अन्तरिक्ष रणनीतिको केन्द्र मानिँदै आएको थियो। यस्तो अवस्थाले भएको दुर्घटनालाई ब्लु ओरिजिनका लागि गम्भीर चुनौतीका रूपमा हेरिएको छ।

घटनापछि जेफ बेजोसले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्ने बताएका छन्। उनले अनुसन्धान अघि बढिरहेको उल्लेख गर्दै आवश्यक संरचना पुनर्निर्माण गरी कम्पनी पुनः उडानमा फर्किने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार अन्तरिक्ष कार्यक्रम अत्यन्त जटिल भएकाले यस्ता चुनौतीहरू प्रक्रियाको हिस्सा बन्न पुग्छन्।

ब्लु ओरिजिनका प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले नासा का अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै कुनै पनि घाइते नभएकोमा राहत अनुभव गरेको जिकिर गरेका छन्।

नासा र ब्लु ओरिजिन अहिले आर्टेमिस चन्द्र अभियानअन्तर्गत चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन्। नासा का अधिकारी जारेड आइज्याकम्यानले अन्तरिक्ष उडान अत्यन्त संवेदनशील र त्रुटिप्रति असहिष्णु क्षेत्र भएको टिप्पणी गरेका छन्।

ब्लु ओरिजिन यसअघि पनि प्राविधिक समस्याबाट गुज्रिएको थियो। गत महिनामात्र न्यू ग्लेन रकेटले उपग्रहलाई लक्ष्य कक्षामा पुर्‍याउने अभियान पूरा गर्न असफल भएको हो ।

यद्यपि कम्पनीले बूस्टर पुनःप्राप्ति र पुनः प्रयोग परीक्षण सफल भएको दाबी गरेको थियो, तर मुख्य मिसन भने पूरा हुन सकेन।

यसअघि सरकारी उड्डयन निकायले पनि कम्पनीलाई दुर्घटना अनुसन्धान गर्न निर्देशन दिएको थियो। कम्पनीले सो अनुसन्धान हालै सम्पन्न भएको जानकारी दिएको छ।

मे २२ मा कम्पनीले अत्यधिक तापीय अवस्थाका कारण एउटा इन्जिनले अपेक्षित पूर्ण शक्ति उत्पादन गर्न नसक्दा लक्ष्यित कक्षा गुमेको बताएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *