एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।
आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो अवधिमा २ सय वटा सडक पुल निर्माण गरिने बताए।
उनका अनुसार पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम पाँच वर्षभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । साथै यसै वर्ष नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको निर्माण सम्पन्न गरिने उनले जिकिर गरे ।
अर्काे दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण गर्ने योजना पनि अघि सारिएको छ । पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै द्रुतमार्गका ४० पुल र ४ सुरुङमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कर्णाली राजमार्गका लागि १ अर्ब रुपैयाँ र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
