कृषिमा के ल्यायो सरकारले ?
काठमाडौं। सरकारले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई व्यापक सुधार गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्ने नीति लिइएको बताएका छन्।
सरकारले व्यावसायिक कृषकलाई आकर्षित गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित न्यूनतम दुई करोड रुपैयाँसम्मको प्रारम्भिक लगानी गर्ने कृषकलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम ल्याउने तयारी गरेको छ। उक्त अनुदान उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म वार्षिक १० प्रतिशतका दरले शोधभर्ना हुने व्यवस्था गरिने उनले जानकारी दिए।
त्यस्तै, वास्तविक कृषकलाई लक्षित गर्दै उन्नत बीउ, मल, सिँचाइ, विद्युत तथा कृषि बीमामा सहुलियत उपलब्ध गराइने बजेटमा उल्लेख छ। कृषि अनुदानको दुरुपयोग रोक्ने नीति पनि सरकारले अघि सारेको छ।
अर्थमन्त्री वाग्लेले ठूला तथा निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक स्रोत व्यवस्थापन गरिएको पनि बताएका छन्।
